काठमाडौ–चर्चित हास्य कलाकार राजपाल यादव जेल जीवन बिताएर निस्के लगत्तै रियालिटी शो 'बिग बोस'मा देखिने भएका छन्।
बिग बोसको १३औं सिजनमा यादवले भाग लिन लागेका हुन्। केही महिना पहिले उनी जेलमुक्त भएका थिए। ऋण नतिरेपछि उनी जेल जान बाध्य भएका थिए।
२०१० मा फिल्म बनाउनका लागि एक कम्पनीसँग ५ करोड रुपैया ऋण लिएका यादवले उक्त रकम चुक्ता नगरेपछि उनीविरुद्ध ठगीको मुद्दा दायर भएको थियो। जेल जान परेपछि एकाएक उनको नकारात्मक चर्चा बढेको थियो।
पिंकविलाको एक रिर्पोटका अनुसार राजपाललाई शोका लागि प्रस्ताव गरिएको छ। पछिल्ला दिनहरुमा विवादमा रहेका यादवलाई शोमा ल्याउन उक्त रियालिटी शोले चाहेको हो। उनीहरुको सोचका अनुसार यादव कमेडियन शोका लागि फिट हुनेछन्।
गत नोभेम्वरमा यादव पक्राउ परेका थिए। उनीमाथि ५ करोड ठगी गरेको उजुरी रहेको थियो। उक्त उजुरीमा सजाय काट्दै यादव फेब्रुअरीमा रिहा भएका थिए। जेल जानु परेका कारण यादवले आयुष्मान खुरानाको फिल्म 'ड्रिम गर्ल्स'मा पाएको महत्वपूर्ण भूमिका गुमाएका थिए।
जेलबाट बाहिर आएपछि उनले भनेका थिए, 'मैले केही मानिसहरु प्रति विश्वास गरेको थिएँ, जसले मेरो गलत फाइदा उठाए। यो बाहेक मेरो अरु भन्नु केही छैन।’
उनले अब आफू यो सब बिर्सेर अगाडि बढ्न चाहेको बताएका थिए। 'राजपाल फिल्म क्षेत्रको ठूलो नाम हो' यो कुरा मैले जानेर जिन्दगीमा मेहनत गर्न जरुरी भएको उनको टिप्पणी थियो।
यादवले कैंयौँ फिल्ममा काम गरेका छन्। भुलभुलैंया, मालामाल विक्ली, कल हो ना हो, दे दना दनजस्ता फिल्म यादवका चर्चित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।