राजविराज- नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले चालू आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा विद्युत चोरी गर्ने ८ सय ४८ जनालाई कारबाही गरेको छ। विगत एक महिनाको अवधिमा मात्र प्राधिकरणको सप्तरी कार्यालयले चुहावटमा संलग्न १ सय १५ जनालाई कारबाही गरेको जानकारी दिएको छ।
बैशाख १९ देखि जेठ १० गतेसम्म संचालन गरिएको चोरी नियन्त्रण अभियानका क्रममा हुकिङ गरी विद्युत प्रयोग गर्ने ३९ र मिटरबाटै चोरी गर्ने ७६ गरी कुल १ सय १५ जना कारबाहीमा परेको सप्तरी वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिए। उनले भने 'चालु आवको पहिलो १० महिनामा ८ सय ४८ जना कारबाहीमा परेका छन्। जसमा हुकिङ गर्ने ५ सय १५ र मिटरबाट चोरी गर्ने ३ सय ३२ जना छन्।'
यसैगरी, हुकिङ गरी चोरीएको विद्युतबाट प्रयोग गरिएका पानी तान्ने मटर, टेलीभिजन, फ्रिजलगायतका १ सय १८ थान उपकरण समेत वरामद गरीएको उनको भनाई छ।
विद्युत चोरीमा संलग्नलाई कारबाही गरी १ करोड ६८ लाख ७९ हजार ५ सय ९२ रुपैयाँ राजश्व संकलन गरिएको वितरण केन्द्रले जनाएको छ।
यस्तै, एक महिनाभित्र १ सय ७ र १० महिनामा १ हजार ४ सय ५७ स्थानको हुकिङ हटाइएकोसमेत साहले जानकारी दिए। कारबाही र जरिवानाका प्रक्रिया निरन्तर सञ्चालन भएपछि सप्तरीमा यस वर्ष विद्युत चुहावटमा समेत कमी आएको साहले दाबी गरे।
गतवर्षको अन्त्यसम्म ५२ दशमलव ६ प्रतिशत रहेको चुहावट १० महिनामा ३९ दशमलव ९ प्रतिशतमा झारिएको उनको भनाइ छ। ‘हाम्रो टार्गेट यो वर्ष चुहावटलाई ३६ प्रतिशतमा झार्ने हो,’ उनले भने, ‘तर, बक्यौता असुलीमा लाग्दा चोरी बढ्ने र चोरी नियन्त्रणमा लाग्दा बक्यौता बढ्ने भइरहेकाले कठिनाई भएको छ।’
३४ करोडभन्दा बढी बक्यौता
वितरण केन्द्रले वर्ष दिनमा २ सय ९९ जनाको लाइन काटेको छ। उनीहरुबाट १ करोड ३२ लाख ८८ हजार १ सय ६६ रुपैयाँ असुली गरिएको केन्द्रले जनाएको छ।
‘विद्युत उपयोग गर्ने तर शुल्क नबुझाउने’ प्रवृत्ति बढ्दै गएपछि कार्यालयले कडाईका साथ रकम असुल गर्न थालेको साहले बताए। पटक–पटक सूचना जारी गर्दा समेत ग्राहकले रकम बुझाउन अटेर गरेपछि विद्युत लाइन काटिएको उनको भनाई छ।
कार्यालयको रेकर्ड अनुसार अझै राजविराज वितरण केन्द्र मात्रै कुल २५ करोड २२ लाख १५ हजार ९ सय २९ रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ। राजविराज, हनुमाननगर, रुपनी, कञ्चनपुर गरी चारवटै वितरण केन्द्रको गरी जिल्लाभरबाट ३४ करोड ९४ लाख ४० हजार ७ सय ९४ रुपैयाँ बक्यौता बाँकी रहेको राजविराज वितरण केन्द्रका लेखा प्रमुख हरिप्रसाद खतिवडाले जानकारी दिए।
सरकारी कार्यालय, उद्योग, कलकारखाना र व्यक्ति समेतबाट बक्यौता रकम असुल गर्न बाँकी रहेको र हरके वर्ष २/३ करोडका दरले असुल र केही थप पनि हुँदै गएको उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।