काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकले पनि जिल्ला इन्चार्ज र सह इन्चार्ज टुंगो लगाउन सकेन।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताले टुंग्याउन नसकिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए।
उनले भने,‘इन्चार्ज र सह इन्चार्जका विषयमा राम्रो छलफल भयो। सबै पाटो र पक्षबाट गम्भीरता पूर्वक छलफल भयो।’
बैठक सकरात्मक दिशामा अघि बढेको उनले जानकारी गराए। बिहीबार पुनः सचिवालयको बैठक बसेर जिल्ला इन्चार्ज र सह इन्चार्ज तोक्ने श्रेष्ठले बताए।
जिल्ला इन्चार्ज र सह इन्चार्ज तोकिसकेपछि अन्य केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाड गरिने बताइएको छ।
बैठक बिहीबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।