काठमाडौं– मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको मतगणना अनुसार आगामी केन्द्रिय संसदमा मात्र ५ दलले राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने देखिएको छ।
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा ५ राजनीतिक दलले मात्र राष्ट्रिय दलको हैसियतमा केन्द्रिय संसदमा प्रतिनिधित्व गर्ने देखिएको हो।
संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान तोकिएको छ। समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा मात्र ५ दलले थ्रेस होल्ड कटाउने देखिएको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबै भन्दा ठुलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबै भन्दा धेरै मत ल्याएको छ। बिहीबार राति १२ बजेको तथ्याङ्क अनुसार एमालेले २९ लाख २६ हजार ८ सय ११ मत ल्याएको छ।
दोस्रो स्थानमा रहेको कांग्रेसले २८ लाख ४२ हजार ३ सय ४३ र माओबादी केन्द्रले ११ लाख ७४ हजार १ सय ९८ मत प्राप्त गरेको छ।
मधेश केन्द्रित दल संघीय समाजवादी फोरम, नेपालले ४ लाख १४ हजार ४७ मत ल्याउँदा राष्ट्रिय जनता पार्टीले ३ लाख ७३ हजार ६ सय ७० मत ल्याएको छ।
समग्रमा विवकेशील साझा पार्टीले १ लाख ९६ हजार ४ सय ८६ मत ल्याउदै छैटौ स्थानमा छ।
आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।