नेपालगञ्ज– नेकपा एमालेका नेता शंकर पोखरेलले तराई–मधेसका समस्याको समाधान संविधान संशोधनबाट नभई आर्थिक र सामाजिक विकासबाट गरिने बताएका छन्।
प्रेस चौतारी बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले मधेसको समस्याको समाधान संविधान संशोधनबाट गर्नुपर्छ भन्ने मान्यताको अगुवाइ गर्ने कांग्रेसलाई भन्दा प्रदेश २ का जनताले एमालेलाई बढी स्थानमा जिताएर उसको एजेन्डा रुचाएको बताए।
‘तराई मधेसमा समस्याहरु छन्, ती समस्या समाधान गर्न पनि आवश्यक छ’, उनले भने, ‘तर संविधान संशोधनबाट नभई आर्थिक सामाजिक विकास र रुपान्तरणका कार्यक्रमबाट समाधान गर्नुपर्छ भन्ने एमालेको मान्यता हो।’
यस पटकको चुनावबाट मधेसका जनताले आफ्नो समुदायको प्रतिनिधित्व होस् र आर्थिक विकासका कार्यक्रम अगाडि बढून् भन्ने चाहना राखेको उनले बताए।
प्रदेश नम्बर २ को चुनावी परिणामलाई विश्लेषण गर्दै नेता पोखरेलले भने, ‘एमाले, कांग्रेस र माओवादी केन्द्रले भन्दा बढी मत मधेसकेन्द्रित दलले पाएका छन्। त्यो जनमत भनेको मधेसी जनताले प्रदेश र केन्द्रमा आफ्नै समुदायको प्रतिनिधित्व होस् भनेर दिएका हुन्।’
उनले राष्ट्रिय पार्टीहरुको कुरा गर्ने हो भने प्रदेश २ मा सबैभन्दा बढी मत एमालेले पाएको भन्दै त्यसको अर्थ एमालेको एजेन्डामा मधेसका जनताको समर्थन रहेको दाबी गरे।
‘मधेसवादी दलका नेता राजेन्द्र महतोले त अब वाम गठबन्धनसँग सहकार्य गरेर अगाडि बढ्ने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका छन्’, उनले भने, ‘त्यो अभिव्यक्ति त्यसै आएको होइन, मधेसी जनताको जनमतको अभिव्यक्ति हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।