तेह्रथुम- थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन्। त्यसो त चुनाव जितेपछि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप चुनाव जितेका नेतालाई सबैतिर नै हुन्छ।
तर यहाँको प्रदेशसभा (ख) क्षेत्रमा प्रत्यक्षतर्फ पराजित बनेका एक नेता फेरि गाउँमा मतदातामाझ पुगेका छन्।
चुनाव हारेपछि प्रदेशसभा (ख) का कांग्रेस उम्मेदवार विजय सम्बाहाम्फे पुनः गाउँ पसेका हुन्। सम्बाहाम्फे मतपरिणाम घोषणा भएकै दिनदेखि गाउँगाउँ पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन्।
प्रदेशसभा (ख) क्षेत्रमा जम्मा ८ राजनीतिक दलको उम्मेदवारी थियो।
यहाँका कुल ३० हजार ५८८ मतदातामध्ये १९ हजार ९६३ मत खसेको थियो। १० हजार ३०२ मत ल्याएर वाम गठबन्धनका लागि एमालेका उम्मेदवार तेजमान कन्दङ्वा विजयी भए। कांग्रेस उम्मेदवार सम्बाहाम्फे २ हजार २५५ मतले पराजित भए।
माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका सम्बाहाम्फे गठबन्धन भएपछि टिकट नपाएर कांग्रेस प्रवेश गरेका थिए। त्यसो त २०६४ अघि नै कांग्रेसको जिल्ला कोषाध्यक्ष भइसकेका उनी पुनः कांग्रेसमै फर्किएर उम्मेदवार बनेका हुन्।
हाल निजी तथा व्यावसायिक विद्यालय अर्गनाइजेसनको केन्द्रीय अध्यक्षसमेत रहेका सम्बाहाम्फे चुनावमा आएको परिणामबाट आफू दुःखी नभएको बताउँछन्। 'जनताको घरदैलोसम्म पुगेर अनुमोदित हुने मौका पाएँ,' उनले भने, 'चुनावमा जित्नुमात्र ठूलो कुरा होइन।'
चुनावपछि मतदातालाई धन्यवाद दिँदै गाउँगाउँ पुगिरहेका उनले आफूले बाँडेका आशा र योजना चुनाव हारे पनि पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन्। 'चुनाव त मैले हारेकै हुँ,' उनले भने, 'चुनाव हारे पनि म जनताको मन जित्न गाउँ आएको हुँ, चुनाव जित्नुभन्दा मन जित्नु ठूलो कुरा हो।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।