काठमाडौं– फेसबुक मार्फत युवतीहरुसँग चिनजान गरी ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङ पक्राउ परेका छन्। विदेशी पठाइदिने भन्दै पैसा लिएर उनले ठगी गर्दै आएका थिए।
तामाङ संगीतकार पनि हुन्। आफु सेलिब्रेटी भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारेर उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाले उनलाई गत साता पक्राउ गरेको हो।
प्रहरीका अनुसार संखुवासभामाकी मनमाया गुरुङसँग उनको फेसबुकमा चिनजान भएको थियो। उनले गुरुङसँग प्रेमको नाटक गरे। तिनै गुरुङकै भाइहरु राजेश गुरुङ र कैलाश गुरुङलाई यूएस आर्मीमा पठाइदिने भन्दै उनले २१ लाख रुपैयाँ लिएका थिए। पैसा ठगेपछि फेसबुकसमेत बन्द गरेर उनी फरार थिए।

फरार रहेका लामालाई २४ गते पक्राउ गरिएको महाशाखाका एसपी उमाशंकर पञ्जियारले बताए। उनी गत वर्ष साउनमा पनि ठगीकै आरोपमा पक्राउ परेका थिए। सो मुद्दामा धरौटीमा छुटेका उनले फेरि ठगी धन्दा सुरु गरेका हुन्। उनले अरुलाई पनि ठगेको हुनसक्ने प्रहरी आशंका छ। उनले तामाङ ‘लेकाली शेपिर्नी’ लगायतका गीतमा संगित भरेका छन्। आफू कलाकार भएको परिचय दिएर उनले ठगी गर्दै आएका हुन्। प्रहरीका अनुसार तामाङले कलाकार भन्दै युवतीसँग प्रेमको नाटक गरी उनीहरुकै आफन्तलाई ठग्ने गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।