सर्लाही- प्रदेश २ का सिनेमा हलहरुमा सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (बक्स अफिस) लागू भएको छ। बक्स अफिस संयोजक नरेन्द्र महर्जनका अनुसार प्रदेश २ का १० वटा सिनेमा हलहरुमा बक्स अफिस प्रणालीमार्फत टिकट काट्न सुरु भएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सर्लाहीको लालबन्दीमा रहेको वीणा चलचित्र मन्दिरमा शनिबार बक्स अफिसको शुभारम्भ गरेका हुन्। सो अवसरमा उनले बक्स अफिस प्रणालीले पारदर्शी समाज र व्यावसायिक शुद्धता कायममा सहयोग पुग्ने बताए।
'व्यावसायिक शुद्धता आएपछि राज्य आर्थिक रुपमा बलियो हुन्छ,' मन्त्री बाँस्कोटाले भने, 'बक्स अफिस प्रणालीले निर्माता र कलाकारलाई पनि सबल र सफल बनाउँछ।'
टिकट काटेर कागजको खोस्टा रेकर्ड राखेर आर्थिक अनियमितता गर्ने प्रणालीको अब अन्त्य हुने मन्त्री बाँस्कोटाको दाबी थियो। बक्स अफिस प्रणालीबाट नागरिकले तिरेको कर नागरिकतिर नै फर्किने उनले उल्लेख गरे।
मन्त्री बाँस्कोटाले नेपालमा प्रसारण गरिने विदेशी विज्ञापनमा विदेशी कलाकारको ठाउँमा नेपाली कलाकारले अभिनय गरेको विज्ञापन प्रसारण गर्नुपर्ने र हलहरु अनिवार्यरूपमा १ सय ८० दिन चलाउनुपर्ने विषयमा पनि जोड दिए।
काठमाडौं उपत्यकामा एक वर्ष अगाडिदेखि नै बक्स अफिस प्रणाली लागू भए पनि उपत्यका बाहिर लागू हुन सकेको थिएन। राज्यलाई आर्थिकरूपमा बलियो बनाउन, निर्मातालाई सबल बनाउन र कलाकारलाई उचित पारिश्रमिक दिलाउनका लागि बक्स अफिस प्रणाली लागू गरिएको चलचित्र विकास बोर्डले जनाएको छ। उपत्यकामा गत वर्षको साउन १ गतेदेखि नै बक्स अफिस प्रणाली लागू गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।