जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सातै प्रदेशलाई कुपोषित बनाउने खेलमा वर्तमान सरकार लागेको आरोप लगाएका छन्। उनले 'जसरी जन्मेको बच्चालाई समयमै भोजन नदिए कुपोषित हुने खतरा हुन्छ ठीक त्यसरी नै प्रदेश सरकारलाई चाहिने अधिकारहरु नदिएर कुपोषित पार्ने खेलमा वर्तमान सरकार लागेको आरोप लगाएका हुन्।
संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा मुलुकमा संघीय प्रणाली अनुसार काम नभएको उनको भनाइ थियो। वर्तमान सरकारले स्थानीय र प्रदेश सरकारलाई दिनुपर्ने अधिकार आफैँ राख्न खोजेकाले संघीयता खतरामा रहेको उनले उल्लेख गरे।
‘जबसम्म सातवटै प्रदेश सरकारको मातहतमा आइजीपी तहसम्मको प्रहरी अधिकारी र प्रहरी नियुक्ति तथा सरुवा, बढुवाको अधिकार हुँदैन तबसम्म संघीय प्रणाली चल्न सक्दैन,’ निधिले भने।
उनले वर्तमान सरकारले देशमा निरंकुश कम्युनिस्ट अधिनायकवादी प्रणाली लाद्न खोजे आन्दोलन गर्ने चेतावनी दिए।
नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानलाई धनुषाको ढल्केबरमा सम्बोधन गर्दै कांग्रेस उपसभापति निधिले सरकारले अदालत लगायत धार्मिक तथा समाजिक संघसंस्थामाथि कब्जा गर्न खोजेको भन्दै यस प्रकारको गतिबिधि नरोकिए कांग्रेस आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।
नेपाली कांग्रेस मिथिला नगरपालिका नगर कमिटी अध्यक्ष योगी महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना , महेन्द्र यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।