बुटवल- पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसदमा टेबल गर्न नदिने चेतावनी दिएका छन्।
लोकतन्त्रको पहरेदार स्वतन्त्र प्रेस विरुद्धको सरकारले संसदमा लगेको मिडिया काउन्सिल विधेयक दर्ता गर्न खोजे प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले संदन अवरुद्ध पार्ने चेतावनी दिएका हुन्।
नेपाली कांग्रेस रुपन्देहीले शनिबार तिलोत्तमाको मधवलीयामा आयोजना गरेको जिल्ला सम्मेलनमा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले वर्तमान सरकार प्रजातन्त्रको खिलापमा उत्रिएर स्वतन्त्र प्रेस र न्यायालय हमला गरेको आरोप लगाए।
'प्रेसमाथिको हमला भनेको प्रजातन्त्रमाथिको हमला हो, प्रजातन्त्रको पर्यायवाची नै स्वतन्त्र प्रेस हो,' उनले भने। केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको रबैया यस्तै रहे पञ्चायत, राणा र राजाजस्तै गरी कांग्रेसको नेतृत्वमा जनताले कुनै पनि बेला हटाउन सक्ने बताउँदै सभापति देउवाले त्यसका लागि पार्टी कार्यकर्तालाई तयार रहन निर्देशन दिए।
पूर्व प्रधानमन्त्री देउवाले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले आफ्ना कार्यकर्ता पाल्न बजेट ल्याएको आरोप समेत लगाएका छन्। उनले विदेशीले दिएको सहायताले पार्टीको कार्यकर्ता पाल्न नमिल्ने जिकिर गरे।
देउवाले भने, 'जनताले तिरेको कर र विदेशीले दिएको सहायताले पार्टीको कार्यकर्ता पाल्न मिल्छ?'
काग्रेस महामन्त्री डा. शशांक कोईरालाले नेपाली कांग्रेसले शुरु गरेका विकासका कामलाई सरकारले आफूहरुले गरेको भन्दै प्रचारबाजी मात्र गरेको उल्लेख गरे।
सोही कार्यक्रममा कांग्रेस नेता बालकृष्ण खाँणले केपी ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै सरकारको आयु धेरै नरहेको उल्लेख गरे।
पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजेको बताए। उनले भने, 'प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभुत विषय हो, यदी प्रेस स्वतन्त्र रहर निर्बाध ढंगले लेख्न पाएन भने सत्ता कसरी बदलिन्छ, यदि प्रेसले स्वतन्त्र ढंगले आलोचना गर्न पाएन भने नेतृत्वले आफुलाई कसरी रुपान्त्रण गर्दछ, त्यसैले प्रेस स्वतन्त्र हुनु पर्दछ।'
कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्व तथा पार्टी रुपन्देही सचिव रामकृष्ण खाँणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।