काठमाडौं- काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि ‘स्मार्ट पार्किङ’ सुरु गरेको छ। सवारी साधनको अत्याधिक चापका कारण ट्राफिक चाप हुनुका साथै सहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न कामपाले स्मार्ट पार्किङ योजना बिहीबारदेखि सुरु गरेको हो।
नयाँ वर्षको सुरुवातसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति दिने भने पनि आन्तरिक छलफलका कारण एक महिनापछि मात्रै उक्त सेवा सुरु गरेको हो। कामपाले नयाँ सडक आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन सुरु गरेसँगै पार्किङ समस्या कम हुने विश्वास कामपाको छ।
सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र सहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।
कामपाले पहिलो चरणमा परीक्षणका रुपमा पार्किङ स्थान निर्धारण गरी सेवा सुरु गरेको हो। पहिलो चरणमा दरबारमार्ग, विशालबजार, इन्द्रचोक, प्युखा र खिचापोखरीमा सेवा सुरु गरिएको छ। यसको प्रभावकारिताका आधारमा अन्य स्थानमा आवश्यकता हेरी अन्य स्थानमा पनि सञ्चालन गर्ने तयारी कामपाको रहेको छ।
काठमाडौं सहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा महानगरको प्राथमिकता रहेको प्रवक्ता डङ्गोलको भनाइ छ। 'पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि सहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ,' उनले भने।
स्मार्ट पार्किङमा एक पटकमा करीब ८ सय वटा दुई पाङ्ग्रे र ४० वटा चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ। सो क्षेत्रमा पार्किङ गर्दा दुई पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० रुपैयाँ लाग्नेछ। त्यस्तै चार पाङग्रेका लागि प्रतिघण्टा ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको स्मार्ट पार्किङ अन्य पार्किङको तुलनामा निकै फरक हुन्छन्। ती क्षेत्रमा जानुअघि सवारी चालकले मोबाइलबाटै समय र स्थानको सुनिश्चित गर्न सक्नेछन्।
सेन्सरमा आधारित यस प्रणालीमा आवश्यकता हेरी प्रत्येक सवारी प्रवेश गरेको र निस्किएको तथ्याङ्क हुन्छ। प्रयोगकर्ताले मोबाइलमार्फत ‘केटिएम पार्क’ एप्लिकेसन ‘डाउनलोड’ गरी घरमै बसेर पार्किङ ‘बुकिङ’ गर्न सक्नेछन्।
डंगोलका अनुसार सेवाग्राहीले एप्लिकेसनमार्फत घरमै बसेर पार्किङका बारेमा सूचना लिन सक्नेछन् भने १५ मिनेटअगाडि नै पार्किङ बुकिङ गर्न पाउनेछन्। कामपाले ‘ब्हिल्स ट्रली योर्स प्रालि’ र ‘एड गुरु’ सँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको हो।
पाँच स्थानमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याउनका लागि १ करोड रुपैयाँ लागत लागेको जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।