प्युठान- नेकपा प्यूठानको नेतृत्वले शुक्रबार विजुवारमा सपथ ग्रहण गरेका छन्। सपथ ग्रहणमा १ सय ३५ जना जिल्ला कमिटी सदस्यहरु मध्ये एक दर्जन बढी सहभागी भएनन्। सपथ खुवाउन प्युठान आएका नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई असन्तुष्ट पक्षले ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।
असन्तुष्ट पक्षले प्रदेश कमिटी अध्यक्ष र सचिवलाई यसअघि नै ध्यानाकर्षण पत्र दिइसकेको थियो। यसअघि एमालेको जिल्ला कमिटीको जिम्मेवारी सम्हालेका १५ जनाभन्दा बढी जिल्ला नेताहरु नेकपाको जिल्ला कमिटीमा नपरेपछि असन्तुष्टि बढेको बताइएको छ।
नेकपा प्यूठानमा पूर्व एमालेबाट भित्रिएका नेताकार्यकर्तामा असन्तुष्टि बढेको हो। पार्टी नेतृत्वले एकता मापदण्ड विपरीत जिल्ला कमिटीमा आफूखुसी सदस्य छानिएको भन्दै स्थानीय नेताकार्यकर्ताहरुमा असन्तुष्टि बढेको बताइएको छ।
साविक नेकपा (माओवादी केन्द्र)ले भने स्थानीय नेताकार्यकर्ताहरुसँग छलफल गरेर सदस्य टुंगो लगाएकाले सो पक्षबाट भने विरोध आएको छैन।
‘निर्वाचित जिल्ला कमिटीका सदस्यलाई समेत अहिले नेकपामा राखिएन,' साविक एमालेको जिल्ला कमिटीका सदस्य रहेका गिरबहादुर सुनारले भने, ‘तर एकपटक पनि जिल्ला कमिटीमा नबसेकाहरु अहिले सदस्य भएका छन्।’ उनले जिल्ला कमिटी अध्यक्ष तुलसीराम शर्मा सहितको नेतृत्व र कार्यदलमा परेकाहरुले मनोमानी रुपमा नेकपाभित्र सदस्य चुनेको आरोप लगाए।
सुनारले नेताका दाजुभाइ, दिदिबहिनी, श्रीमती, छिमेकी र इष्टमित्रहरुलाई छानीछानी जिल्ला कमिटीमा राखिएको दाबी गरे। नेकपाको जिल्ला कमिटीमा दाखाक्वाडी क्षेत्रबाट मात्रै १५ जना बढी सदस्यहरु परेका छन्। विभिन्न जनवर्गीय संगठन चलाएका, पेसागत संगठनको नेतृत्व सम्हालेकाहरुलाई समेत पाखा लगाएर आसेपासे र कनिष्ठ कार्यकर्तालाई कमिटीमा राखिएको असन्तुष्ट पक्षको आरोप छ।

तत्कालीन नेकपा एमाले प्युठानका संस्थापक नेता बिरबहादुर सिंहका छोरा विजय सिंह र अजय सिंह दुवैलाई कमिटीमा राखिएको छेन।
साविक एमाले जिल्ला कमिटिमा रहेका राम बहादुर सिंह, विजय सिंह, गिरिजा पुलामी, मनोज पुन, ज्ञानबहादुर सुवेदी, दलबहादुर केसी, भगवती विष्ट, गिर बहादुर सुनार, विष्णु बहादुर बस्नेत, शिवसंकर पोखरेल, भगवती राजभण्डारी, ललित बस्नेत, रामलाल श्रेष्ठ, खेतबहादुर रोका, गोपाल घिमिरे लगायतलाई जिल्ला कमिटीबाट हटाइएको छ।
साविक जिल्ला कमिटीको तोकिएको हिस्सामा संख्या पुगेपछि मात्र नयाँ थप गर्नुपर्ने एकताको निर्देशन भए पनि पुरानालाई हटाएर मापदण्ड र निर्देशनविपरीत थपेको असन्तुष्ट पक्षको गुनासो छ।
पार्टीको नेतृत्वप्रति गौतमको आक्रोश
सपथ ग्रहणलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नेकपाका सचिवालय सदस्य गौतमले नेकपा गठन भएको वर्ष दिन बितिसके पनि संगठन विस्तारले गति लिन नसकेको बताए। उनले पार्टीको नेतृत्वप्रति आक्रोश समेत पोखे।
‘एक वर्ष हुँदा समेत कुनै गतिविधि भएनन्,' गौतमले भने, ‘यसरी पार्टी चल्न सक्दैन।’ २०७० मा प्युठानबाट चुनाव जितेर काठमाडौंबाट २०७४ सालको चुनावमा पुनः बर्दिया फर्केका गौतमले त्यसपछि पहिलोपटक प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।