नेपालगञ्ज– मुगु र हुम्लामा हिमपात भएको छ। हिमपातका कारण नेपालगञ्जदेखि हुम्लाको सिमकोट र मुगुको ताल्चाका लागि हुने उडान अवरुद्ध भएको नेपालगञ्ज नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ।
हुम्लामा बिहान ६ बजेदेखि सुरु भएको हिमपातका कारण सिमकोटमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ। हिमपातले सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ।
हिमपातपछि सिमकोटका साथै उत्तरी क्षेत्रका लिमी, मुचु र बरगाउँमा अत्यधिक जाडो बढेको छ।
हिमपातका कारण चीनसँग सीमा जोडिएको उत्तरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्किन समेत समस्या परेको छ। त्यहाँको तापक्रम माइनस ५ सम्म झरेको छ।
हिमपातले जनजीवन कष्टकर भए पनि हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले किसान भने खुसी भएका छन्।
नेपालगञ्जदेखि हुम्लाको सिमकोट र मुगुको ताल्चाका लागि दैनिक ३ देखि ४ वटासम्म उडान हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।