काठमाडौं– करिब १० वर्षदेखि ६०१ जना सांसद बेहोरेका नेपाली जनताले नयाँ संवैधानिक प्रावधानअनुसार अब ८८४ सांसदको भार बेहोर्नुपर्ने भएको छ। ६०१ जना सभासद्/सांसदको संख्यालाई 'जम्बो' भनेर करिब एक दशकदेखि गरिएको विश्लेषणलाई नयाँ संख्याले प्रतिस्थापन गर्नेछ। प्रदेशसभा , प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी कुल सांसद संख्या ८८४ जना हुने भएका हुन्।
संविधानअनुसार प्रदेशसभामा कुल ५५० जना सांसद हुनेछन्। यो ७ वटै प्रदेशमा हुने कुल सांसदको संख्या हो। ५५० जना सांसदको संख्या त्यहाँ हुने प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आउनेछन्। जसअनुसार, प्रत्यक्ष निर्वाचन प्रणालीबाट ३३० जना निर्वाचित हुनेछन्। ३३० लाई ६० प्रतिशत मानी थप ४० प्रतिशत संख्या समानुपातिक प्रणालीबाट थपिनेछन्।
प्रत्यक्ष तर्फको ३३० जना सांसद प्रतिनिधिसभाको प्रत्यक्षका लागि निर्धारण भएको कुल १६५ को दोब्बर हो। संविधानले प्रत्येक प्रदेशबाट संघ अर्थात् केन्द्रका लागि जति जना सांसद प्रत्यक्षतर्फबाट निर्वाचित हुन्छन्, सो संख्याको आधा सांसद प्रदेशसभाको लागि प्रत्यक्ष प्रणालीमार्फत निर्वाचित हुनेछन्।
त्यसअनुसार ७ वटै प्रदेशमा गरी ३३० जना प्रतिनिधि निर्वाचित हुनेछन्। र, ३३० जनालाई ६० प्रतिशत मानी त्यसको ४० प्रतिशत अर्थात् २२० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन्। यसअनुसार ७ वटै प्रदेशका कुल सांसदको संख्या ५५० पुग्नेछ। यस अनुसार प्रत्येक प्रदेशसभामा निम्न संख्यामा सांसद रहनेछन्ः
प्रदेश १ मा ५६+३७ = ९३
प्रदेश २ मा ६४+४३ = १०७
प्रदेश ३ मा ६६+४४ = ११०
प्रदेश ४ मा ३६+२४ = ६०
प्रदेश ५ मा ५२+३५ = ८७
प्रदेश ६ मा २४+१६ = ४०
प्रदेश ७ मा ३२+२१ = ५३
प्रतिनिधिसभाका लागि प्रत्यक्षबाट निर्वाचित हुने सदस्य १६५ रहेको छ। त्यसलाई ६० प्रतिशत मानेपछि बाँकी ४० प्रतिशत अर्थात् ११० जना थपिएर २७५ जनाको पूर्ण प्रतिनिधिसभा गठन हुनेछ।
अर्कोतिर संविधानले दुई सदनात्मक प्रणालीको व्यवस्था गरेको छ। प्रतिनिधिसभा जस्तै अर्को सभा हुनेछ, राष्ट्रियसभा। यो सभामा ५९ जना सदस्य रहनेछन्। ती प्रत्येक प्रदेशबाट ८ जनाको दरले निर्वाचित हुनेछन्। ३ जना भने राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।
यो पनि पढ्नुहोस् : यसरी छानिन्छन् राष्ट्रियसभा सदस्य
यसरी प्रदेशसभामा ५५०, प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभाका लागि ५९ जना गरी कुल ८८४ जना सांसद हुनेछन्।
१३३ मन्त्री!
यो संख्या पनि संघ र प्रदेशमा गरी हुने कुल संख्या हो। संविधानअनुसार मन्त्रीहरुको यो संख्या अधिकतम हो। प्रदेशका मुख्यमन्त्री र संघका प्रधानमन्त्रीले चाहेमा यो संख्या कम हुन सक्नेछ। तर संवैधानिक बाध्यता नभएका बखत जथाभावी मन्त्री संख्या बढाएका, प्रधानमन्त्री भएका र उही खालको प्रवृत्ति भएका नेताले नै अझै केही वर्ष सरकारको नेतृत्व गर्ने परिस्थिति देखिएको अवस्थामा मन्त्रीको संख्या कम होला भनेर विश्वास गर्न सकिन्न।
संविधानको धारा ७६ (९) मा भनिएको छ– 'राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्नेछ।'
यो व्यवस्थाले अब संघीय मन्त्रिपरिषद्को अधिकतम सदस्य २५ जना मात्रै हुनेछन्। अहिले यो संख्या ६४ सदस्य छ।
प्रदेश मन्त्रिपरिषद्को सदस्य संख्याबारे पनि संविधानमा उल्लेख गरिएको छ। प्रदेश मन्त्रिपरिषद्बारे संविधानको १६८ मा व्याख्या गरिएको छ।
धारा १६८ को उपधारा ९ मा भनिएको छ– 'प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्नेछ।'
यसअनुसार अब बढीमा ७ वटा प्रदेशका कुल सदस्यको २० प्रतिशत मात्रै प्रदेशका मन्त्री हुनेछन्। प्रदेशमा रहेका कुल सांसदहरु ५५० भएपछि त्यसको २० प्रतिशत अर्थात् ११० जना प्रदेशका मन्त्री हुनेछन्। तर तर प्रत्येक प्रदेशका प्रदेशसभामा हुने सांसद संख्याको २० प्रतिशत पूर्ण संख्यामा नहुने भएकाले केही संख्या तलमाथि भने हुन सक्ने देखिन्छ।
प्रदेश १ मा कुल ९३ जना प्रदेशसभा सदस्य हुनेछन्। ९३ को २० प्रतिशत १८ दशमलव ६ हो। २० प्रतिशतबाट नबढाउने संवैधानिक प्रावधान भएकाले यस प्रदेशमा १८ जनाको मन्त्रिपरिषद् हुन सक्ने देखिन्छ।
त्यस्तै प्रदेश २ मा कुल १०७ जना प्रदेशसभा सदस्य हुनेछन्। यसको २० प्रतिशत २१ दशमलव ४ हुन्छ। यहाँ २१ जनाको मन्त्रिपरिषद् हुन सक्नेछ।
प्रदेश ३ मा प्रदेशसभा सदस्य ११० हुनेछन्। यहाँ बढीमा २२ जनाको मन्त्रिपरिषद् हुनेछ। त्यस्तै ६० जनाको प्रदेशसभा रहेको प्रदेश ४ मा बढीमा १२ जनाको मन्त्रिपरिषद् हुनेछ। प्रदेश ५ मा प्रदेशसभा सदस्य ८७ सदस्य रहनेछ। यसको २० प्रतिशत यहाँ बढीमा १७ जनाको मन्त्रिपरिषद् हुनेछ।
त्यस्तै ४० जनाको प्रदेशसभा हुने प्रदेश ६ मा मन्त्रिपरिषद्को अधिकतम संख्या ८ जनाको हुनेछ। प्रदेश ७ मा ५३ जनाको प्रदेशसभा हुनेछ। ५३ को २० प्रतिशत १० दशमलव ६ हुन्छ। यहाँ पनि बढीमा १० जना मन्त्रिपरिषद् सदस्य हुनेछ।
यसरी सैद्धान्तिक रुपमा प्रदेश मन्त्रिपरिषद्को संख्या ११० पुगे तापनि व्यावहारिक रुपमा भने यो संख्या १०८ मात्रै पुग्छ।
यसरी संघका २५ र प्रदेशका १०८ गरी कुल १३३ जनाको मन्त्रिपरिषद् हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।