काठमाडौं– नेपाली रगमञ्चका चर्चित कलाकार प्रदिपकुमार चौधरी नाटक निर्देशनमा उत्रिएका छन्। उनीद्वारा निर्देशित नाटक ‘मसानटार’ मण्डला थिएटर, अनामनगरमा मंसिर २४ गतेबाट मञ्चन भइरहेको छ । पूर्वी नेपालको विकट पहाडी क्षेत्रको एउटा काल्पनिक गाउँको कथा ‘मसानटार’मा छ। भूतप्रेत र आत्माहरुको आतङ्कले गाउँ नै रित्तिन लागेको अनौठो नियति र त्यसको भोगाइहरु यस नाटकमा देखाइएको छ । यस्तो भूतप्रेत र आत्माको आतंकमा पनि गाउँमा नै बस्न रुचाउने एउटा आँटिलो युवक रुपकको कथा यस नाटकमा बुनिएको निर्देशक चौधरीले बताए।
बुवाआमाको मृत्युपश्चात रुपक नामको युवा शहरबाट गाउँ फर्किन्छ । उसलाई आफ्नो गाउँमा स्कुल खोल्ने सपना पूरा गर्नुका साथै बुबाआमाबाट टुहुरी बनेकी बहिनीको पनि हेरचाह गर्ने जिम्मेवारी छ । गाउँमा रुपकलाई यी सबै कुरा कत्ति पनि सजिलो हुँदैन । गाउँमा मान्छेहरू केहि भएर कुनै दुर्घटना या मृत्यु भोग्नु पर्दा सबैले मसानकै दोष दिन्छन् । गाउँलेहरूले नाना थरीका मसान, प्रेतआत्मा र भूतको कथा सुनाएर रुपकको मनमा भूतप्रेतको बिउ रोप्न खोज्छन् ।
तर ऊ भुतप्रेतमा खासै विश्वास गर्दैन । गाउँमा अनेकन कुराहरू चल्छन् । कहिले धामी हराएर भूतप्रेतहरू चल्बलाउन थालेको त कहिले गाउँले रुपक भीरबाट खस्दा उसले भूत देखेको । यीनै अन्धविश्वासको मिश्रण हो नाटक 'मसानटार' । एउटा धामीले कसरी गाउँलेको मनमा भूतको भ्रम छरेको छ र कसरी उनीहरूको विश्वासमाथि कव्जा गर्छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ । विश्वासमा परिवर्तन गर्नुपर्ने नाटकमा देखाइएको छ ।
किरण श्रेष्ठ, सुदिप खतिवडा, प्रत्रिका घिमिरे, आयान खड्का, कविता धौबडेल, मिलन कार्की, विक्रम श्रेष्ठ, सागर दाहाल, सन्देश शाक्य, कुन्दन चौधरी र पुष्कर जंग कार्कीको अभिनय रहेको नाटकको लेखन तथा निर्देशन प्रदिप कुमार चौधरीले गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।