काठमाडौं- पहिलो चरणमा निर्वाचन भएको धादिङमा समानुपातिक तर्कको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार १० हजार २ सय ५१ मतगणना गर्दा नेकपा एमालेले अग्रता लिएको छ। एमालेले ३५ सय ३६ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २७ सय १८ मत पाएको छ। यस्तै, माओवादी केन्द्रको खातामा २४ सय ३५ मत जम्मा भएको छ। चौथो स्थानमा रहेको राप्रपाको ३ सय ७५ मत छ भने पाँचौं स्थानमा नयाँ शक्तिले १ सय १६ मत पाएको छ।
दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको धादिङमा प्रत्यक्षतर्फ दुवै सिट नेकपा एमालेले जितेको हो। क्षेत्र नम्बर १ मा एमालेका भूमिप्रसाद त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत ल्याएका थिए।
यसैगरी, क्षेत्र नम्बर २ मा एमालेका खेमप्रसाद लोहनी ३६ हजार २ सय ५६ मत ल्याई विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलमान पाख्रिनले ३५ हजार ६ सय १६ मत पाएका थिए।
समानुपातिकमा प्रदेशसभातर्फ पनि नेकपा एमालेकै अग्रता छ। पछिल्लो गणना अनुसार एमालेले ३ हजार २ सय १४ मत पाएको छ। माओवादी केन्द्र २६ सय १५ मत ल्याई दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको कांग्रेसको २५ सय १२ मत पुगेको छ।
धादिङको प्रदेशसभामा प्रत्यक्ष तर्फ पनि वाम गठबन्धनकै उम्मेदवारले जितेका हुन्।
धादिङ १ को प्रदेशसभा (क) मा एमालेका राजेन्द्रप्रसाद पाण्डेले २७ हजार ३ सय ३२ मत ल्याएर जितेका थिए भने प्रदेशसभा (ख) मा माओवादी केन्द्रका शालीकराम जम्कट्टेल २३ हजार ३ सय ८२ मत ल्याई विजयी भएका थिए।
यस्त, धादिङ २ को प्रदेशसभा (क) मा एमालेका रामकुमार अधिकारी २० हजार ३ सय ६८ मत ल्याई विजयी भएका थिए। प्रदेशसभा (ख) माओवादी केन्द्रका जगतबहादुर सिंखडाले १७ हजार ६ सय ५ मत ल्याई जित हासिल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।