गोरखा – गोरखा–२ प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि गोरखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मतदातालाई धन्यबाद दिँदै आफू जनताको सेवक भएको बताएका छन्।
‘म सम्पूर्ण गोरखाली दाजुभाइ तथा दिदीबहिनीमा आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरुले मलाई तेस्रोपटक गोरखा जिल्लाको प्रतिनिधित्व गर्ने अवसर दिनुभएको छ । म आफ्नो बुद्धिले भ्याएसम्म निष्ठापूर्वक, इमान्दारितापूर्वक जनताको सेवामा लाग्नेछु,’ उनले भने।
जनताको प्रतिनिधि सेवक हुन्छ मालिक हुँदैन भन्दै भट्टराईले गोरखावासीको सेवकका रुपमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संविधान कार्यान्वयन गर्न ऐन, कानून बनाउने, विकास निर्माणको नेतृत्व लिँदै समृद्धितर्फ लैजानेलगायत भूमिका आफ्नो रहेको भट्टराईको भनाइ छ।
यस्तै भट्टराईले प्रत्येक महिना आफ्नो चुनावी क्षेत्र तथा जनताको घरदैलोमा आउने पुरानो वाचालाई पुनः निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। “तपाईंहरुको समस्या समाधान गर्न एउटा सम्पर्क कार्यालय खोल्छु, जुनसुकै बेला सम्पर्क हुने हटलाइन टेलिफोन सेवा शुरु गर्छु र जनताको समस्या सुनेर समाधानका लागि पहल गर्छु”, भट्टराईले भने।
काँग्रेससँगको सहकार्यमा आफू निर्वाचित भएको भन्दै उनले यो संसद्को अवधिसम्म काँग्रेससँग सहकार्य गरेर जाने बताए। ‘म नेपाली काँग्रेसलाई विश्वास दिलाउन चाहन्छु कि ढुक्क रहनुहोस्, तपाईंहरुको प्रतिनिधि मै हुँ”, भट्टराईले भने, “कसैलाई पनि काखापाखा गर्नेछैन।’ जुनसुकै सरकार बने पनि गुणका आधारमा सहयोग र दोषका आधारमा असहयोग गर्ने भट्टराईले बताए।
‘गोरखाली जनताको शिर निहुरिने गरी मैले कहिल्यै काम गर्नेछैन,’ उनले भने।
विजय सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, गोरखा २ (क)बाट विजयी नयाँ शक्तिका नेता हरिशरण आचार्य, गोरखा २ ९ख०बाट विजयी काँग्रेस नेता प्रकाशचन्द्र दवाडी, काँग्रेस सभापति हरिबहादुर घलेलगायतले लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाएकामा मतदातालाई धन्यवाद दिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।