कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइएको छ।
उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई फेसबुक म्यासेञ्जरबाट यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि सो पदबाट हटाइएको हो।
स्वकीय सचिव भट्टले उपसभामुख जोशीकी अंगरक्षक महिला प्रहरीसित म्यासेञ्जरबाट बारम्बार यौन प्रस्ताव गरी मानसिक यातना दिएको भन्दै सञ्चारमाध्यममा उनले गरेको कुराकानी सहितको म्यासेञ्जर संवाद बाहिरिएपछि भट्टलाई स्वकीय सचिवबाट हटाएको उपसभामुखको सचिवालयले जनाएको छ।
स्वकीय सचिव भट्टले पदीय आचरण विपरीत काम गरेपछि सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज समेत रहेका उपसभामुख जोशीका श्रीमान लक्ष्मण दत्त जोशी सहितका नेकपाका नेताहरूको सल्लाहमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको हो।
स्वकीय सचिव भट्टको यौन प्रस्तावसहितको यातनापूर्ण व्यवहारका कारण उपसभामुख जोशीका अंगरक्षकहरू हरेक दुई महिनामा फेरिने गरेका थिए।
स्वकीय सचिव भट्टले आफूले भनेको नमान्ने अंगरक्षकलाई अनेकन आरोप लगाई सुदूरपश्चिम डिआइजीलाई भनेर फेर्ने गरेका थिए।
भट्टले आफ्नो यौन प्रस्ताव नस्विकारेपछि अंगरक्षकलाई बिनाकारण हटाउने गरेपछि समाचार सार्वजनकि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।