काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आरामदायी बहुमत पुर्यारउने संकेत आइसकेको छ। यस आधारमा वाम गठबन्धनबाट आगामी सरकार बन्ने निश्चित छ। तर, भावी प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम आइरहेका बेला एमालेकै उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेका छन्।
बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका गौतमले नेपाल लाइभसँगको कुराकानीमा आफूले अवसर पाए देशको नेतृत्व गर्ने बताएका हुन्। उनले आफू मन्त्री छँदा राम्रो काम गरेको उल्लेख गर्दै प्रधानमन्त्रीका रुपमा समेत राम्रो काम गर्न सक्ने दाबी गरे। गौतमले पार्टीले दिएको जुनसुकै जिम्मेवारी पूरा गर्ने बताउँदै मौका मिले प्रधानमन्त्रीसम्म बनेर देशको नेतृत्व गर्न सक्ने बताएका हुन्।
नेकपा एमालेको विधान अनुसार गौतम आगामी महाधिवेशनमा ७० बर्से उमेर हदका कारण पार्टीको नेतृत्वमा पुग्ने सम्भावना छैन। जसले गर्दा गौतमले आफू प्रधानमन्त्री बन्न पाउने मौकाका रुपमा यो निर्वाचन अन्तिम भएको महसुस गरेका छन्। वाम एकताका लागि लामो समयदेखि खटिएका गौतमकै सक्रियताले गठबन्धनले आकार पाउन सकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।