काठमाडौं– ५ लाख रुपैयाँ नदिए अपहरण गरेर गोली हानी ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–९ घर भई बालकुमारी ललितपृुर बस्ने २४ वर्षीय लोकेन्द्रबहादुर शाही र सोही ठाउँकी २० वर्षीया रुबी ठाकुर छन्।
उनीहरुले सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका–६ घर भई हाल काठमाडौं बुद्धनगर बस्ने ४२ वर्षका सीताराम कार्कीलाई विभिन्न नम्बरहरु प्रयोग गरेर ५ लाख रुपैयाँ फिरौती माग गरेका थिए। उक्त रकम नदिए छोरोलाई अपहरण गरेर गोली हानी मार्ने धम्की दिएपछि कार्कीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए।
कार्कीको उजुरीको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई धम्क्याउन प्रयोग भएको फोन र सिमकार्डसहित गौशालाबाट बिहीबार पक्राउ गरेको हो। पक्राउ शाही र ठाकुर प्रेमी-प्रेमिका भएको अनुसन्धानबाट खुल्न आएको छ।
ठाकुरको योजनामा शाहीले फोन गरेर धक्याउने गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।