रसुवा– रसुवामा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक मोर्चाका उम्मेदवारहरु विजयी भएसँगै विजय जुलुस निकालिएको छ।
विजय उत्सव मनाउने कार्यक्रममा वाम गठबन्धनका पराजित उम्मेदवारहरुले विजयी उम्मेदवारलाई भेटेर बधाई दिएका छन्।
रसुवामा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक मोर्चाबाट उम्मेदवारी दिएका कांग्रेसका मोहन आचार्य, प्रदेशसभा (क) बाट कांग्रेस उम्मेदवार प्रभात लामा र प्रदेशसभा (ख) बाट उम्मेदवारी दिएका नयाँ शक्ति पार्टीका प्रेम तामाङ विजयी भएका हुन्। शनिबार बिहान ३ बजे सबै मतगणना सम्पन्न हुँदा उनीहरु निर्वाचित भएका हुन्।

प्रतिनिधिसभातर्फ कांग्रेस मोहन आचार्यले १४ हजार ४ सय ७३ मत ल्याउँदै नेकपा एमालेका जनार्दन ढकाललाई ४ हजार एक सय ७५ मतले पराजित गरेका हुन्।
प्रदेशसभा (क) तर्फ पनि नेकपा एमालेका कर्णेल लामालाई एक हजार ८ सय २४ मतले पराजित गर्दै नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन्। कांग्रेसका लामाको ६ हजार ९ सय ७६ र एमालेका लामाको ५ हजार एक सय ५२ मत छ।
त्यस्तै, प्रदेशसभा (ख)मा नयाँ शक्ति पार्टीका प्रेम तामाङ एक हजार तीन सय ४८ मतको साथ विजयी बनेका छन्। तामाङको ७ हजार ४० र उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार इन्द्र गौतम जगतजंगको ५ हजार ६ सय ९२ मत आएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।