काठमाडौं– जनकपुरमा हतियारसहित ७ जना भारतीय लुटेरालाई प्रहरीले पक्राउ गरेको छ।
जनकपुर उपमहानगरपालिका–८ स्थित बिहार कुण्ड मन्दिरमा लुटपाट गर्ने उद्देश्यका साथ आएका भारत समस्तीपुर ग्राम पञ्चायत सतपुर बस्ने २६ वर्षीय रवि मल्लिकसहित ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
साथै नियन्त्रणमा लिने क्रममा प्रहरीलाई लक्षित गरी गोली फायर गर्दै भाग्न खोजेपछि प्रहरीले जवाफी फायर गर्दा रवि मल्लिक घाइते भएका छन्।
दुवै तिघ्रा र दायाँ खुट्टाको गोली गाँठोमा गोली लागेर घाइते भएका मल्लिको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
उनीहरूको साथबाट पेस्तोल १ थान, गोली २ राउण्ड, म्याग्जिन १ थान, कटुवा पेस्तोल १ थान, एसएलआरको गोली २ राउण्ड, खुकुरी १ थान र मोटरसाइकल २ थान समेत बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।