पाँचथर– पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गतराति २ परिवारका ९ जनाको विभत्स हत्यामा संलग्न रहेको आशंका गरेका व्यक्ति नै मृत फेला परेका छन्।
प्रहरीले हत्यामा संलग्न भएको आशंका गरेका व्यक्ति मानबहादुर मोखिम मृत फेला परेका हुन्। उनी घटनास्थलबाटै नजिकै मिक्लाजुङ–८ लुमाङ्दिनमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनी हत्या गरिएका बमकुमार फियाकका ज्वाइँ रहेको प्रहरीले जनाएको छ।
ज्वाइँ र ससुरालीको सम्बन्ध बिग्रिएका कारण हत्यामा मोखिमको संलग्नता हुनसक्ने आशंका प्रहरीले गरेको थियो। तर आशंका गरिएका व्यक्ति नै मृत फेला परेपछि घटनाको अनुसन्धान थप जटिल बन्दै गएको छ।
उक्त घटनामा भागेर ज्यान जोगाएकी कक्षा ९ मा अध्ययनरत सीता खजुमसँग सोधपुछ गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।
अनुसन्धानका लागि संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीबाट एसपी उमा चतर्वेदीको नेतृत्वमा एक इन्सपेक्टर र एक जुनियर प्रहरी अकिृतको टोली १२ बजको फ्लाइटमार्फत पाँचथर गएको छ। घटानको विभिन्न कोणबाट प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ।
उक्त घटनामा धनराज शेर्मा लिम्बुको घरमा उनीसहित ३ बालिका र १ जना महिला गरी ५ जना तथा लिम्बुको घरदेखि केही पर रहेको उनको ससुरा बमकुमार फियाकको घरभित्र बमसहित ३ महिला गरी ४ जना सहित ९ जना मृत अवस्थामा फेला परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।