लन्डन- बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि संसदमार्फत अर्को एउटा ‘दमदार खाका’ पेस गर्ने आइतबार बताएकी छिन्।
बेलायती पत्रिका सन्डे टाइम्समा प्रकाशित एक लेखमा मेले भनेकी छिन्, 'इयूबाट बेलायतको बहिर्गमनका लागि अन्तिम प्रयासस्वरूप ‘नयाँ र सुधारिएको’ प्रस्ताव संसदमा प्रस्तुत गरिनेछ।'
प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै विपक्षी लेबर पार्टीले प्रधानमन्त्रीले ल्याउने उक्त प्रस्तावको विपक्षमा मतदान गर्ने बताएको छ।
बेलायती संसदका बहुमत सदस्यले प्रधानमन्त्रीबाट यस पहिले पटक-पटक ल्याइएका प्रस्तावको विपक्षमा मतदान गरेका थिए।
प्रधानमन्त्री मेले आफूले ‘पहिलेकै सम्झौतामा सांसदहरूलाई पुनः सोच्न मात्र भनेको नभइ’ सुधारसहितको प्याकेजका उपाय ल्याउन लागेकोले यसमा समर्थन प्राप्त हुने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्री मेले बेलायती संसदले पटक-पटक अस्वीकार गरेको ब्रेक्जिट प्रक्रिया अवरूद्धतालाई समाधान गर्ने पहलस्वरूप नयाँ प्रस्ताव पेस गर्ने जनाएकी हुन्। उनले आफ्नो नयाँ प्रस्तावमा मतदानसँगै प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ बाट बाहिरिने समयतालिका पनि तय गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।