डोटी- नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन्।
बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका थापालाई आइतबार जिल्ला प्रहरी कार्यालय सिलगढीमा ल्याइपुर्याएको छ। पक्राउ परेका थापालाई सोधपुछ र बयानपछि आवश्यक कानुनी कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए।
पक्राउ परेका थापासँग सुरुमा बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीका विषयमा सोधपुछ गरिने प्रहरीले जनाएको छ। उक्त कार्यालयमा ‘विप्लव’ समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ। बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा बैसाख २३ गते राति अज्ञात समूहले आगजनी गरेको थियो।
यद्यपि सो समूहले भने अझै घटनाको जिम्मेवारी लिएको छैन। बडीकेदार गाउँपालिकामा ‘विफ्लव’ समूहको सक्रियता बढ्दो त्रममा रहेको बताइन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।