जनकपुर- खुनडाँका, संगठित अपराध र किर्ते मुद्धामा फरार लालबन्दी नगरपालिकाका सञ्जिव पासवानलाई प्रहरीले पक्राउ गरेको छ। सर्लाही, महोत्तरी, सिन्धुली, सिरहा तथा भारतका विभिन्न स्थानमा खुनडाँका तथा संगठित अपराध गरी लुक्दै आएका ४५ वर्षे पासवानलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।
मंसिर २० गते सर्लाहीको इश्वरपुर नगरपालिका–१३ स्थित हरिपुर नगरपालिका–७ का धनेश्वर महतोको पैसा लुटेर फरार रहेका पासवान प्रहरीको खोजी सूचीमा थिए। पैसा लुटेर फरार रहेका पासवानलाई ६ महिनादेखि प्रहरीले खोज्दै आएको थियो। गोप्य सूचनाको आधारमा प्रहरीले पासवानलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए।
डेढ वर्ष अगाडि कविलासी नगरपालिका–२ का सुनिल साहको हत्या गरी सुन र चाँदीको गरगहना लुट्ने घटनामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ। पासवानविरुद्ध महोत्तरीमा दुईवटा डाँका र एउटा सरकारी कागज किर्ते गरेको मुद्धा दर्तामा रहेको प्रहरी नायव उपरीक्षक राठौरले बताए। सिन्धुली र सिरहामा एक–एक डाँका मुद्धा यसअघि नै उनको विरुद्धमा दर्ता छन्।
२०५८ सालमा रुपन्देहीको भैरहवामा डाँका गरेको आरोपमा पक्राउ परी साढे तीन वर्ष जेल सजायसमेत भोगेका पासवानले भारतको विभिन्न शहरमा एक दर्जन भन्दा बढी पटक डकैती गरेको प्रहरीले जनाएको छ।
पासवान २० वर्षको उमेरदेखि नै पेसेवर डाँकाको रुपमा अपराध गर्दै आएका थिए। सुरुमा भारतको विभिन्न स्थानमा डकैती गर्दै आएका पासवान पछिल्लो समयमा आएर नेपालका विभिन्न स्थानमा अपराध गर्दै आएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।