जनकपुर- धनुषामा आज एक युवककाे शव फेला परेको छ। धनुषाधाम नगरपालिकाि ५ बस्ने रामनाथ उरावका २४ वर्षीय छोरा रमेश उरावको शव धनुषाधाम नगरपालिका वडा नं ७ किसानपुरको एक खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
शुक्रबार बेलुकी करिब ८ः३० बजे आफ्नै घरबाट निस्केका रमेश अबेर रातिसम्म पनि नआउँदा उनको खोजबिन सुरु गरिएको थियो। बिहानसम्म खोजबिन गरे पनि नभेटाएका उमेश अन्तत: धनुषाको किसानपुर टोलको एक खेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।
रमेशको घाँटी र हातमा करेन्ट लागेको जस्तो देखिए पनि अहिले स्पष्ट भन्न नसकिने उनले बताए।
रमेशका बुबाका अनुसार उनी राति आफ्ना साथी जंगली यादव, फेकू यादव र गुगली यादवसँगै बाहिर थिए।
रमेश चढेको साइकल घटनास्थलदेखि करिब २ सय ५० मिटरको दुरीमा रहेको पोखरीमा फेला परेको छ भने रमेशको शवलाई परालले छोपिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
किसानपुर बस्ने स्थानीय देव नारायण यादवको खेतमा रमेशको शव फेला परेको हो। स्थानीय किसानहरुले नील गाई धपाउनका लागि खेतको वरिपरि बिजुली करेन्ट लगाउँदै आएका छन्। त्यही तारमा करेन्ट लागेर रमेशको मृत्यु भएको हुन सक्ने अनुमान गरिए पनि पोस्टमार्टमपछि मात्रै कारण खुल्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।