लुम्बिनी– लुम्बिनी भ्रमण वर्ष-२०७६ औपचारिक रुपमा शुभारम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष-२०७६ को विधिवत् शुभारम्भ भएको घोषणा गरेकी छन्।
उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा पनि दिइन्।
लुम्बिनीको विकासले प्रदेश ५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने भन्दै राष्ट्रपति भण्डारीले भनिन्, 'लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता हो।'
स्थानीयको सहयोग र सहकार्यलाई सँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न ध्यानाकर्षण गराएकी छन्।
बुद्धस्थलहरुलाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मूलुकहरुसँग जोडेर बृहत् पर्यटकीय परिपथ निर्माण गर्न सकिने बताउँदै सरकारलाई ध्यान दिन उनले आग्रह गरिन्।
बुद्धपूर्णिमालाई वैशाख दिवसका रुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गर्ने सरकारलाई धन्यवादसमेत प्रदान गरेकी छन्।
लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रबद्र्धन गर्नुपर्ने बताउँदै उनले लुम्बिनी क्षेत्रमा शान्ति, स्थीरता कायम गर्दै जानुपर्ने बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले चरणबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताए।
प्रधानमन्त्रीले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रको रुपमा विकास गर्दै विश्वसमुदायसँग अन्तरराष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताए। उनले लुम्बिनी क्षेत्रको तीब्रतर विकासका लागि अन्तरराष्ट्रिय समुदायको साथको आवश्यकता रहेको उल्लेख गरे।
उनले बुद्धस्थलहरु कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरुलाई समान ढंगलाई विकास गर्दै लैजाने प्रतिवद्धता जनाए। तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेको बताउँदै त्यसको विकास र प्रबर्द्धनका लागि नयाँ ढंगले योजना बनाउने बताए।
कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रबर्द्धन गर्ने बताए।
बुद्धको जन्मस्थल लुम्बिनीको काम तीब्र गतिमा हुनुपर्ने बताउँदै अन्य बुद्धस्थलहरुको समेत उत्खनन् र तथ्यहरु बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबका ३ वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताए।
कार्यक्रममा लुम्बिनीको प्रबर्द्धनमा सहयोग पुर्याएको भन्दै ८ जनालाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।