राजविराज– सप्तरीको एक गाउँपालिकाको अध्यक्षको घरमा गएराति बम विष्फोट भएको छ।
बलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा मध्ये राती बम विष्फोट हो।
अज्ञात समुहले प्रतिक्षालायमा राखेको प्रेसर कुकर बम राति करिब १ बजे विष्फोट भएको प्रहरीले जनाएको छ। बमको छर्राले लागेर नजिकै गोठमा सुतेका गोइतका काका ६२ वर्षीय श्यामानन्द गोइत सामान्य घाइते भएका छन्।
उनको दायाँ खुट्टामा सामान्य चोट लागेको छ। विष्फोटका कारण प्रतिक्षालयको पर्खाल तथा टेवुल कुर्षि क्षति भएको अध्यक्ष गोइतले जानकारी दिए।
वम विष्फोटको जानकारीपछि डिएसपी भावेश रिमाल नेतृत्वको टोली राति नै घटनास्थल पुगेको थियो। संलग्नको खोजी भइरहेको एसपी राजेन्द्र विष्टले जानकारी दिए।
बम विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ। मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले जारी गरेको विज्ञप्तिमा गाउँपालिकाका अध्यक्ष गोइत भ्रष्टाचारमा संलग्न भएकोले कारबाही स्वरुप बम विष्फोट गराइएको उल्लेख छ।
भ्रष्टाचारलाई निरन्तरता दिइरहे अझ उच्च तहको कारवाही गरिने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार अध्यक्ष स्वयम् नै हुने विज्ञप्तिमा चेतावनी समेत दिइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।