भैरहवा- लुम्बिनीका अवधारणाकर्ता उत्थान्तको सालिक अनावरण गरिएको छ।
लुम्बिनीको विकासमा सबैभन्दा बढी योगदान रहेको संयुक्त राष्ट्र संघका पूर्व महासचिव उत्थान्तको सालिक आज एक कार्यक्रमका बीच लुम्बिनीमा अनावरण गरिएको हो।
सालिकको प्रदेश ५ का उद्योग, वन तथा पर्यटनमन्त्री लिला गिरी, उत्थान्तका नाति थानमिन्त उ, राष्ट्रियसभा सदस्य दुर्गा उपाध्याय, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, प्रदेशसभा सदस्य फकरुद्दिन खान, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा हृदयरत्न बज्राचार्य, होटल कसाईका सञ्चालक नोबोउ कसाई (तोकुसेन) लगायतले अनावरण गरेका हुन्।
उथान्त सन् १९६१ देखि १९७१ सम्म संयुक्त राष्ट्र संघका महासचिव रहेका थिए। सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिवकाे रुपमा उथान्त लुम्बिनी भ्रमणमा आएका थिए। उनको लुम्बिनी भ्रमणले यहाँ नयाँ आयाम थपिएकाे इतिहासका जानकारहरु बताउँछन्। उनी लुम्बिनी आउँदा यस स्थानकाे महत्व र भविष्यकाे विषय उठान भएको थियो।
बर्माका नागरिक उथान्तलाई साे समयमा पत्रकारले लुम्बिनी कस्तो पाउनु भयो भन्ने जिज्ञासा राखेपछी उनले यस क्षेत्रकाे महत्व र गरिमा विश्वस्तरमा रहेको बताएका थिए। उथान्तले भनेका थिए, 'यसअघि लुम्बिनीबारे जे सोचेकाे थिएँ, मनमा जुन रेखाचित्र कोरेकाे थिएँ, त्यहाँ यी केही थिएनन्।'
सो समयमा मायादेवीको पुरानो मन्दिर, आडैमा अशोक स्तम्भबाहेक लुम्बिनी उराठ देखिन्थ्यो। पवित्र भूमिमा कुनै आकर्षक चिज वा सेवासुविधा थिएनन्। न बिजुली न खानेपानी। मन्दिर वरिपरि खेतीपाती हुन्थ्याे। मानौं, यो विश्वकै आस्था केन्द्र होइन, कुनै विकट गाउँ हो।
लुम्बिनी क्षेत्रको हालत र अव्यवस्था देखेर बौद्धपथिक उथान्त विचलित मात्र बनेनन्, लुम्बिनीका लागि केही गर्ने अठोट लिएर फर्किएकाे बताइन्छ।
उथान्तको यही आगमनलाई लुम्बिनीको योजनाबद्ध विकासको ‘कोसेढुंगा’ मानिन्छ। उनले तत्कालै नेपाल सरकारसमक्ष ‘लुम्बिनी गुरुयोजना’ बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए। सरकारले साे प्रस्तावलाई स्वीकार्दै सन् १९७२ मा जापानी वास्तुविद् प्राध्यापक केन्जो टांगेले लुम्बिनी गुरुयोजना बनाउने जिम्मा लिए।
टांगेले सन् १९७८ मा सरकारलाई हस्तान्तरण गरेको गुरुयोजना स्वीकृत भएपछि योजनाबद्ध लुम्बिनी विकास आरम्भ भएको हो। यो परियोजना राष्ट्रिय गौरवकाे परियोजना पनि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।