भैरहवा- भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको भैरहवा बुद्धमय हुने भएको छ।
लुम्बिनी जाने पर्यटकको लागी मूख्य प्रवेशद्धार र स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाको रुपमा रहेको भैरहवाको मूख्य-मूख्य सडकमा गौतम बुद्धको प्रतिमा राख्न सुरु भएको छ।
२५६३औं बुद्ध जयन्तीको पूर्वसन्ध्यामा प्रदेश नम्बर ५ का उद्योग, वन तथा पर्यटनमन्त्री लिला गिरीले भैरहवामा बुद्ध मूर्तिको अनावरण गरेका छन्। लुम्बिनीसँग सबैभन्दा नजिक रहेपनि बुद्धसँग सम्बन्ध झल्काउने कुनै निसानी नभएको कारण सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रभित्र बुद्ध मूर्ति राखेको हो।
पहिलो चरणमा बेलहियादेखि अञ्चलपुरसम्म करिब २ सय मिटरको दूरीमा बुद्ध मूर्ति राखिने उपभोक्ता समिति अध्यक्ष भरत कुमार पोखरेलले बताए। यसबाहेक लुम्बिनी रोडमा पनि बुद्धचोकदेखि मायादेवी चोकसम्म मूर्तिहरु राखिने उनले बताए।
पहिलो चरणको लागि नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले जनाए। उनले बुद्ध मूर्ति राख्नुमा नगरपालिकाले मात्र नभई भैरहवामा क्रियाशील सबै संघसंस्थाको दायित्व भएकोले अभियानमा सहयोग गर्न अपिल गरे।
बुद्ध मूर्तिसँगै भैरहवाकै बैंकरोड बुद्धत्व झल्किने गरी सबै घर एकै प्रकारको रङले रंगाउने भएको छ। पहिलो चरणमा बैंकरोडबाट सुरु गरी बिस्तारै नगरको अन्य भाग हुँदै सबै घर एउटै रङको गराउने नगरपालिकाको योजना रहेको छ।
यस्तै सबैभन्दा बढी पर्यटक भित्र्याउने बेलहिया नाका नजिक आकर्षक प्रवेशद्धार समेत बनाउन नगरपालिकाले सुरु गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।