डडेल्धुरा– डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियुले तोडफोड गरेको छ। तोडफोडमा संलग्न भएको भन्दै स्ववियु सभापति जगत ऐरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिएका बेला ऐरको नेतृत्वमा पुगेको टोलीले ढुंगामुढा गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको लागि भइरहेको परीक्षा बिथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए।
पक्राउ परेका विद्यार्र्थी नेतालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए। विद्यार्थीहरूले ढुंगामुढा प्रहार गरी क्याम्पसका केही झ्यालहरूका सिसा टुटफुट भएको प्रहरीले जनाएको छ।
क्याम्पसले त्रिविको नियम विपरीत राजनीतिक भागभन्डाको आधारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्ववियुले ८ दिनअगाडि लगाएको ताला क्याम्पसले तोडेर पूर्वनिर्धारित मितिमै कर्मचारी भर्नाको परीक्षा लिएको थियो।
३ जनाको लागि खुलेको भर्नामा १२ जनाले आवेदन दिए पनि ७ जनाले मात्र परीक्षामा सहभागिता जनाएका छन्।
जसमा क्याम्पसमा स्ववियु सभापति ऐरकी श्रीमतीले पनि आवेदन दिएकी छन्। सभापति ऐरले आफ्नी श्रीमतीलाई कर्मचारीको रुपमा भर्ना गर्न क्याम्पस प्रमुखलाई दबाव दिएको र नमानेपछि चरणबद्धरुपमा आन्दोल गरिएको आरोप लागेको छ।
जिल्लाका नेकपा, कांग्रेस र जिल्ला प्रसाशनको मिलोमतोमा कर्मचारी भर्ना गर्न लागेको स्ववियूको आरोप छ।
यता सभापतिसहित ९ जनालाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै विद्यार्थीहरूले नारावाजीसहित जिल्ला प्रशासन अगाडि प्रर्दशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।