काठमाडौं- ह्विलचियर एसिया कप टी-१२० क्रिकेट प्रतियोगिता २०१९ मा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। शुक्रबार टियू मैदानमा भएको खेलमा नेपाललाई पाकिस्तानले १ सय ३० रनले हरायो।
पहिले ब्याटिङ गरेको पाकिस्तानले ४ विकेटको क्षतिमा २ सय ६९ रन जोड्यो। पाकिस्तानका लागि मोमहद लतिफले १ सय ४६ रन र सजिड अली अब्बासीले ६२ रन जोडे। बलिङमा नेपालका डम्बर मगर र यमबहादुर श्रेष्ठले १–१ विकेट लिए।
२ सय ७० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रन मात्र जोड्न सक्यो। नेपालका लागि ओपनर डिगम सिंह चेम्जोङले ४७ रन र सागर पाण्डेले ३० रनको योगदान दिए। बलिङमा पाकिस्तानका मोहमद फियाजले २ विकेट लिए।
यसअघि नेपाललाई भारत र बंगलादेशले हराएका थिए।
अर्को खेलमा भारतले बंगलादेशलाई ३० रनले हरायो। अब उपाधिका लागि भारत र पाकिस्तानबीच शनिबार प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।