काठमाडौं– सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टिम शुक्रबार चीनको नानिङ प्रस्थान गरेको छ।
मे १९ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। पुरुषमा रत्नजित तामाङ र दिपेश धामी तथा महिलामा नङशल तामाङ र अमिता गिरी रहेका छन्। प्रशिक्षकमा उत्तम सिम्खडा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष अनोज बस्नेत छन्।
प्रतियोगितामा दक्षिण एसियाका ३ सहित २१ राष्ट्रको सहभागिता रहने ब्याडमिन्टन संघले जनाएको छ। दक्षिण एसियाबाट नेपालसहित भारत र श्रीलंकाको सहभागिता रहने छ।
ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ तथा उपाध्यक्ष सुवास श्रेष्ठ प्रतियोगिताका दौरान हुने ब्याडमिन्टन विश्व महासंघ र ब्याडमिन्टन एसियाको वार्षिक साधारणमा भाग लिन चीन जाने छन्। अध्यक्ष श्रेष्ठ मे २१ मा जाँदैछन् भने उपाध्यक्ष श्रेष्ठ टोलीसँग चीन गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।