काठमाडौं– बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा ‘जनता आवास’ मार्फत् नेपाली सेनाले घर निर्माणको काम गरिहरहेको छ।
विभिन्न १२ स्थानहरूमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने योजनाअनुरुप बैसाख १४ गतेदेखि नेपाली सेनाले काम गरिरहेको छ।

हावाहुरी प्रभावित क्षेत्र पर्सामा ९१ र बारामा १ हजार ३ सय ६२ घर गरी जम्मा १ हजार ४ सय ५३ घर निर्माण हुने बताइएको छ। आवास निर्माण तीन चरणमा सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाको छ।
पहिलो चरणमा ४ सय ८२ घरहरू जेठ २६ गते भित्र, दोस्रो चरणमा ४ सय ८२ घरहरू आषाढ २८ गतेभित्र र तेस्रो चरणमा ४ सय ८९ घरहरू साउन ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ।
जेठ १ गतेसम्म ती स्थानहरूमा भइरहेको कार्य प्रगति भने यस्तो छ:
१. पचरौता नगरपालिका–७, बेनौलीमा ९ वटा घरको जग खन्ने काम पूरा
२. महागढीमाई नगरपालिका–७ तेलगाईमा ४१ वटा घरको जग खनिसकिएको
३. सुवर्ण गाउँपालिका–४ हर्दियामा ४२ वटा घरको जग खन्ने काम सम्पन्न
४. देवताल गाउँपालिका–७ रामपुर्वामा २२ वटा घरको जग खन्ने काम पूरा भएको
५. फेटा गाउँपालिका–६ पुरैनियामा ३० वटा घरको जग खन्ने काम सकिएको
६. फेटा गाउँपालिका–१ भरवलीयामा १९ वटा घरको स्प्रिट लक गर्ने काम भएको
७. कलैया उपमहानगरपालिका १३ छोट्की फुलबारियामा ४ वटा घरको जग खन्ने काम र ८ वटा घरको स्प्रिट लक गरिएको
८. प्रसौनी गाउँपालिका–४ खटुवाजग्दी मा ३० वटा घरको जग खन्ने काम सकिएको
९. फेटा गाउँपालिका–१ भलुहीमा १६ वटा घरको जग खन्ने काम भइरहेको
१०. परवानीपुर–४ चैनपुर मा ३४ वटा घरको जग खन्ने कार्य सम्पन्न भएको र नमुना घर १ को गाह्रो लगाउने कार्य भइरहेको
११. वीरगञ्ज महानगरपालिका–५ उदयपुरमा ६ वटा घरको जग खनेको
१२. वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा १५ वटा घरको जग खन्ने कार्य सम्पन्न भएको
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।