मेक्सिको सिटी- मेक्सिकाेमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ। देशको दक्षिणपूर्वी राज्य क्विन्तानाअन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो।
हत्या हुनु अगाडि उनलाई धम्की दिइएकाे अधिकारीहरुले जानकारी दिएका छन्। घटनाका अनुसन्धानकर्ताहरुले जारी गरेको वक्तव्यमा अनुसन्धान जारी रहेको उल्लेख छ। पत्रकार फ्रान्सिस्को रोमेरो डिजको हत्या भएको प्रहरीले पुष्टि गरेको छ। उनको शव पनि प्राप्त भइसकेकाे प्रहरीको भनाइ छ।
अनुसन्धानकर्ताहरुका अनुसार उनलाई गत अप्रिल १२ मा धम्की दिइएकाे थियो। सो कुरा उनले आफ्ना सहकर्मीहरुलाई बताएका थिए। स्थानीय समयानुसार उनको शव शुक्रबार बिहान ६ बजेतिर ‘ला गोट्टा’ नामक बारको बाहिर भेटिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
अधिकारीहरुले घटनास्थलमा गोली हानेर उनको हत्या गरेको जस्तो रगत र चोटहरु देखिएको जानकारी दिएका छन्।
रोमेरो डिजसँगै सन् २०१९ को सुरुबाट अहिलेसम्ममा मेक्सिकोमा कम्तीमा ५ पत्रकारको हत्या भइसकेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।