काठमाडौं- स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ। पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए।
धरहराको करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको छ।
स्थानीयले ६ महिनायता आफूहरुलाई आवातजावतका लागि सहज बनाउन पनि पैदलमार्ग खुलाउन धरहरा निर्माण समितिसँग माग गर्दै आएका थिए। उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दबाब दिँदै आएका छन्। ६ महिनायता पैदलमार्ग समेत नखुलाइको कारण आफूहरु मारमा पर्नु परेको स्थानीय व्यापारी अनिता बुढाथोकीले बताइन्।
यता, धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदलमार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँग छलफल भइरहेको र आजै सो सम्बन्धमा आवश्यक निर्णय हुने पनि जनाएको छ। पूरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलको बीचका पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।