बनेपा– काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भांगेटारको जंगलमा दुई जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षको भनाइ उदृत गर्दै खानेपानी मर्मतका लागि गएको दुवै जनाको आज बिहान मृत फेला परेको बताए।
वडाध्यक्ष दूधराज तामाङका अनुसार गाउँमा उपभोग गर्दै आएका खानेपानीको धारामा पानी नआएपछि मुहानतर्फ हेर्न भनी बुधबार दुवै जना घरबाट निस्केको र बेलुका घर नआएपछि घरपरिवार र गाउँले मिलेर खोज्ने क्रममा तीन दिनपछि आज बिहान भांगेटारको जंगलमा शव फेला पारेको हो।
अध्यक्ष तामाङका अनुसार मृत फेला पर्नेमा सोही वडाका अन्दाजी ५० वर्षीय सञ्चर सिं लामा र ४० वर्षीय नरबहादुर लामा रहेका छन्। उनीहरूसँगै गएका एक कुकुर पनि सोही ठाउँमा मृतावस्थामा भेटिएको जनाइएको छ।
मृतकको शरीर केही जलेको जस्तो देखिएको र एक जनाको आँखा फुटेको र अर्कोको कपडा च्यातिएको अवस्थामा रहेको छ।
घटनाको जानकारी आएपछि घटनास्थलतर्फ प्रहरीको टोली पठाइसकेको भए पनि घटनास्थल नपुगेको कारण विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।