मेलम्ची- सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद ३ हजार चोरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। उनले चोरी स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
लामो समयदेखि सोही स्कुलमा पढाउँदै आएकी जोशीले दिउँसो ३ बजेतिर घलेको घरमा पसेर दराजमा भएको सुन चोरेको पीडित घलेको भनाइ छ। सुन चोरेर भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा बाटोबाटै उनलाई नियन्त्रणमा लिइएको थियो।
अभियुक्त जोशी पटकपटक विभिन्न घटनामा संलग्न रहेको आरोप लाग्दै आएको मेलम्ची नगरपालिकाका शिक्षा शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए।
जोशी स्कुल जाँदा पनि मादक पदार्थ सेवन गरेर जाने गरेको स्थानीयवासी गोविन्द घलेको भनाइ छ। जोशीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।