पर्सा– पर्साको जिराभवानीपुर गाउँपालिका– १, पलुवामा गोली प्रहार गरी भाइले दाइको हत्या गरेका छन्।
३८ वर्षीय भाइ शेख सेरामुद्दिनले आफ्नै दाइ ४८ वर्षीय शेख फरुकलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
घरायसी विवाद हुँदा भाइले दाइमाथि कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रहरीको भनाइ छ। फारुकको छातीमा गोली लागेको थियो।
गोली प्रहारबाट गम्भीर घाइते फारुकलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो तर त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको थियो। उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल उनको शव घर लगिएको छ। प्रहरीले गोली प्रहार गर्ने भाइ सेरामुद्दिनलाई पक्राउ गरेको छ भने उनको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीका खोका बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।