जुम्ला– पहिलो चरणमा निर्वाचन भएको जुम्लामा बिहीबार साँझदेखि मतगणना सुरु भएको छ।
मतगणना गर्ने कक्षमा तारजाली र सिसी क्यामेराको व्यवस्था गरी साँझ ५ बजेदेखि गणना थालिएको हो। जिल्लाको कनकासुन्दरी र तातोपानी गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ। गणना स्थलको बाहिरी र भित्री घेरामा म्यादी प्रहरी र नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र सेनाले सुरक्षा दिएका छन्।
गणना स्थल बाहिर राजनीतिक दलका कार्यकर्ता, समर्थक र शुभचिन्तकको भिड लागेको छ।
मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले ६ वटा टोली बनाएर मतगणना गरिएको बताए। प्रदेश र प्रतिनिधिसभा निर्वाचनको दुवै क्षेत्रको एकैसाथ तीन वटा कोठामा मतगणना गरिने ढुंगानाले जानकारी दिए।
जुम्लामा ५९ हजार ५८ मतदाता रहेकोमा ७० दशमलब ४ प्रतिशत मत खसेको थियो।
जुम्लामा प्रतिनिधिसभाको प्रत्यक्षमा वाम गठबन्धनका गजेन्द्रबहादुर महत, नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाही र नेमकिपाका डिल्लीप्रसाद काफ्ले उम्मेदवार छन्।
यस्तै, प्रदेशसभातर्फ प्रदेश (क)का लागि वाम गठबन्धनका नरेश भण्डारी, कांग्रेसका राजुसिंह कठायत र नेमकिपाका शिवलाल डाँगी लगायतका उम्मेदवार छन्। प्रदेश (ख) मा वाम गठबन्धनका पदमबहादुर रोकाया, कांग्रेसका भीमनिधि हमाल र नेमकिपाका गोर्खबहादुर बुढा चुनावी मैदानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।