म्याड्रिड- स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोनी ग्रिजम्यानले सिजनको अन्त्यबाट क्लब छाड्ने घोषणा गरेका छन्।
पाँच सिजन खेलेपछि उनले क्लब छाड्ने बताएका हुन्। गत वर्ष विश्वकपको ट्रफि उचालेका ग्रिजम्यानको एट्लेटिकोसँगको सम्झौता जुनबाट सकिदैछ। यद्यपी अब उनको क्लबका लागि अन्तिम खेल आगामी शनिबार लेभान्तेविरुद्ध हुनेछ।
ग्रिजम्यानले ट्विटरमा भिडियो पोस्ट गरेर पाँच सिजन उत्कृष्ट भएको बताएका छन् भने सबैलाई धन्यवाद दिएका छन्।
उनले क्लबका लागि २ सय ५६ खेल खेल्दै १ सय ३३ गोल गरेका छन्। उनी सन् २०१४ मा स्पेनिस क्लब रियल सोसिडाडबाट एट्लेटिकोमा आवद्ध भएका थिए।
एट्लेटिकोमा रहदा उनले युरोपा क्लब, स्पेनिस सुपर कप र युईएफए सुपर कपको उपाधि उचाल्ने मौका पाए।
यसअघि ग्रिजम्यानलाई भित्र्याउन अर्को स्पेनिस क्लब बार्सिलोनले प्रस्ताव राखे पनि उनले अस्विकार गरेका थिए। बार्सिलोनाले प्रस्ताव राखेपछि एट्लेटिकोले फिफामा गैरकानुनी रुपमा प्रस्ताव राखेको भन्दै उजुरी हालेको थियो।
एट्लेटिको छाड्ने ग्रिजम्यान तेस्रो उच्च वरियताका खेलाडी हुन्। यसअघि डिफेन्डर लुकास हर्नान्डेज वायर्न म्युनिख गएका थिए भने कप्तान डिइगो गोडिनको पनि सिजनको अन्त्यबाट सम्झौता सकिदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।