काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।
प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्याशउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिएका हुन्।
प्रधानमन्त्रीले विभिन्न संशय र आशंकाबीच सरकारले निर्वाचन सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको बताउँदै निर्वाचन संविधान कार्यान्वयन गर्ने सन्दर्भमा महत्वपूर्ण खुट्किलो भएको उल्लेख गरेका छन्।
'प्रथम चरण र आजको दोस्रो चरणको निर्वाचनमा मतदाताले देखाएको उत्साहपूर्ण उपस्थितिले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको छ', विज्ञप्तिमा उल्लेख छ, 'सरकारप्रति नागरिकको अपार विश्वास प्राप्त भएको महसुस मैले गरेको छु।'
प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचनको सफलताले नागरिकमा आशा जगाएको बताएका छन्। उनले यसले मुलुकको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि मार्गप्रशस्त गर्दै संविधानले व्यवस्था गरेको संघीय शासन प्रणालीको जगलाई स्थापित गर्ने आशा समेत व्यक्त गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।