सप्तरी– देशका ४५ जिल्लामा उल्लासका साथ मतदान भए पनि सप्तरीको महदेवा मतदानस्थलमा भने एक भोट पनि खसेन। सिके राउतले गाउँलेलाई भोट नहाल्न आह्वान गरेकाले उक्त मतदान केन्द्रमा कसैले भोट नहालेका हुन्।
सुरुमा सिके राउतको समूहले गाउँलेहरु एक ढिक्का भएर मतदान नगर्ने निर्णय गरेको थियो। पछि कर्मचारी र प्रहरीले भोट हाल्न आग्रह गर्दा विगतमा भोट हाल्दा पनि आफ्नो गाउँको विकास नभएको भन्दै गाउँलेले भोट हाल्न मानेनन्। उक्त मतदान केन्द्रमा ५ बजेसम्म पनि भोट नखसेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजयलाल कायस्थले बताए।
यसैबीच, सप्तरीको तिलाठीमा प्रहरीले दुई जना सिके राउत समर्थकलाई पक्राउ गरेको छ। उनीहरुले भोट नहाल्न भनेर धम्क्याउँदै भोट हाल्नेहरुको फोटो खिचेका थिए। सिके राउतलाई बिहानै प्रहरीले धनुषामा पक्राउ गरी हिरासतमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।