जकार्ता– इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सुनखानी दुर्घटना हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु भएको छ भने दर्जनौं खानीभित्रै पुरिएको प्रहरीले जनाएको छ।
उद्धारकर्ताहरूले खानीबाट पाँच जनाको शव निकालेका छन्। बोगोर जिल्लाको बान्तर गाउँको पोङकोर पहाडी भेगको सुनखानीमा उक्त दुर्घटना भएको हो।
खानीमा फसेका अरु व्यक्तिको खोजी भइरहेको पनि बताइएको छ।
खानी दुर्घटनामा बाँचेकाहरूले भने खानीभित्र अरु १५ जना पुरिएको बताएका छन्। निरन्तरको वर्षाका कारण खानी दुर्घटना भएको हुनसक्ने राष्ट्रिय प्रकोप नियन्त्रण संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताए।
कठिन भौगोलिक अवस्था र निरन्तरको वर्षाका कारण उद्धारमा कठिनाई रहेको पनि उनले बताए।
इन्डोनेसियामा पुराना सुनखानी धेरै रहेका र तिनीहरु परम्परागत रुपमै सञ्चालनमा रहेका छन्।
खासगरी पहाडी दुर्गम इलाकाहरूमा यी सुनखानी छरिएर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।