नेपालगञ्ज– प्रदेश ५ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको छ।
बिहान चिसोका कारण मतदाता कम आए पनि १० बजेपछि मतदाताको संख्या बढ्दै गएको छ।
मतदातालाई आतंकित पार्न बिहान दाङको बंगलाचुली र गुल्मीको रुरु बलेटक्सार मतदान केन्द्र नजिकै राखिएको सकेट बम सुरक्षाकर्मीले निस्क्रिय पारेका छन्।
दाङको पश्चिम क्षेत्रमा पर्ने डुंगेश्वरमा भएको झडपमा २ जना घाइते भएका छन्। घाइतेहरुलाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रदेश ५ का १२ मध्ये १० जिल्लाका १ हजार ५ सय १ मतदानस्थल तथा ३ हजार १ सय ६६ मतदान केन्द्रमा मतदान भइरहेको छ। १० जिल्लामा प्रतिनिधिसभामा २४ र प्रदेशसभामा ४८ स्थानका लागि निर्वाचन भएको हो।
सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका ४ सय मतदान केन्द्रमा सुरक्षाका लागि ५० देखि एक सय जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।