कोलम्बो- श्रीलङ्काको उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसङ्ख्यक मुसलमान समुदाय र बहुसङ्ख्यक बुद्धमार्गी समूहबीच झडप भएपछि राष्ट्रव्यापी कर्फ्यु आदेश जारी भएको छ।
प्रहरी प्रवक्ता एसपी रुवान गुणशेखरका अनुसार प्रशासनले उत्तर पश्चिमी सहरहरू कुलियापिटिया, विङ्गीरिया, धुम्मलासुरिया, हेट्टिपोला, रसनायकापुर र कोवैगानेका नगर क्षेत्रमा सोमबार दिउँसोदेखि सुरू भएकाे कर्फ्यु मङ्गलबार दिउँसाे ४ बजेसम्म रहनेछ।
सोमबार भएका भडपमा मुसलमानहरूको धार्मिक आस्थाको केन्द्र मस्जिदहरूका कैंयौँ सम्पत्तिहरूमा क्षति पुगेको एक प्रत्यक्षदर्शीले बताए। झडपपछि उक्त क्षेत्रमा थप हिंसाका घटना नहोस् भन्नका लागि प्रशासनले उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पठाएको र थप अहिले स्थिति सामान्य बनिसकेको प्रहरीले बताएको छ।
यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले एक विज्ञप्ति जारी गरी सबै समुदायलाई सम्यमित बन्न आग्रह गरे। विज्ञप्तिमा गलत तथा भ्रामक सूचनाबाट प्रभावित नबन्न र शान्त रहन आग्रह गरेका छन्।
प्रधानमन्त्रीले भने, 'सरकार तथा सुरक्षा निकायले नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको छ। तर, पनि हरबखत हिंसाका घटना देखिइरहेका छन्। यसको अनुसन्धान गरी नागरिकको सुरक्षाका लागि सरकार प्रतिवद्ध छ।'
सरकारले गलत सूचना सम्प्रेषण नहोस् भनी मुलुकमा सञ्चालनमा रहेका फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालहरूमा सोमबार बिहानैदेखि अनिश्चित समयका लागि बन्द गरेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।