नेपालगञ्ज– बिहीबार हुने निर्वाचनमा प्रदेश ५ अन्तर्गत १२ जिल्लामध्ये १० जिल्लामा प्रतिनिधिसभामा २४ र प्रदेशसभामा ४८ स्थानका लागि मतदान हुँदै छ।
१० जिल्लाका १ हजार ५ सय १ मतदान स्थल र ३ हजार १ सय ६६ मतदान केन्द्रमा मत्रपत्रसहित निर्वाचन सामग्री पुगिसकेका छन्। मतदान केन्द्रमध्ये सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा राखिएका करिब ४ सय केन्द्रको सुरक्षाका लागि ५० देखि एक सय जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन १० जिल्लामा ४० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। यस्तै, नेपाली सेनाले शान्ति सुरक्षाको ब्यबस्थालाई प्रभाबकारी बनाउन ५ नम्बर प्रदेशमा एम १६ लगायत अत्याधुनिक हतियार र बम डिस्पोजल पार्ने स्वचालित उपकरणसहित करिब १० हजार सेना परिचालन गरेको छ।
सेनाको हवाई तथा स्थल टोली परिचालन भएका छन्। निर्वाचन केन्द्र आसपासका क्षेत्रमा सेनाले गस्ती गरिरहेको छ।
यसैबीच, नेपाल प्रहरीले प्रदेश ५ मा निर्वाचन बिथोल्न खोज्ने थप १० जना पक्राउ गरेको छ। हालसम्म बर्दियामा १५, दाङमा ३१ र कपिलवस्तुमा १४ जनासहित १ सय ३५ जना पक्राउ परेका छन्।
प्रदेश ५ को भारतसँग सीमा नाका जोडिएको ३ सय ८५ किलोमिटर क्षेत्र र त्यस क्षेत्रमा पर्ने नाकाहरुलाई मतदान नसकिँदासम्मका लागि पूर्णरुपमा सिल गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।