काठमाडौं- प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको दोस्रो चरण अन्तर्गत आज ४५ जिल्लामा मतदान सुरू भएको छ। हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लामा गत मंसिर १० गते नै निर्वाचन सम्पन्न भइसकेको छ। बाँकी पहाडी र मधेसका जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो। मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ।
४५ जिल्लाका १२८ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि १२८ सिट र प्रदेशसभाका लागि २५६ सिटका लागि मतदान भइरहेको हो।
७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्र तय गरिएको निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारीहरु खटिने प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए।
आजको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ हजार ६६३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाका लागि २ हजार ८१९ जना उम्मेदवार छन्। समानुपातिकमा प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका २२० पदका लागि ५ हजार ८३८ जना प्रतिस्पर्धामा छन्।
आज हुने मतदानमा १ करोड २२ लाख ३५ हजार ९९३ जना मतदाता सहभागी हुने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।