नेपालगञ्ज– बिहीबार हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा सम्पूर्ण तयारी पूरा भएको छ।
१ सय ३६ मतदान स्थल र ३ सय २७ मतदान केन्द्रमा मतपत्रसहित सबै निर्वाचन सामग्री पुर्याइएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ।
मतदानलाई व्यवस्थित बनाउन लाइन लाग्ने, मतदान गर्ने, मतदान गरेर निस्कने स्थानको व्यवस्था गरिएको नेपालगञ्जको खानेपानी संस्थानस्थित मतदान केन्द्रका मतदान अधिकृत डिल्लीराज पोखरेलले बताए।
मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरीको टोली खटिएको छ। यस्तै, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले मतदान केन्द्र आसपासका क्षेत्रमा गस्ती गरिरहेका छन्।
निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। कुनै पनि स्थलमा अप्रिय घटना हुन लागेको खबर आएको १० मिनेटमै सुरक्षाकर्मी पुग्नेगरी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
प्रतिनिधिसभाको ६ सिट र प्रदेशसभाको ६ सिट रहेको बाँकेमा २ लाख ७६ हजार ७ सय १८ मतदाता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।